Press Council Nepal

प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी संक्षिप्त सर्भेक्षण प्रतिवेदन हस्तान्तरण (प्रतिबेदनसहित)

काठमाडौं/कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी अध्ययन/सर्भेक्षण प्रतिवेदन हस्तान्तरण गरिएको छ । प्रेस काउन्सिल नेपालका सदस्य एवं पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एक कार्यक्रमबीच प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

लकडाउन अवधिमा सामाजिक सञ्जालसहित सबैखाले सञ्चारमाध्यमबाट के–कस्ता सामग्रीहरु सम्प्रेषित भए ? सम्प्रेषित सामग्रीको प्रभाव र विश्वसनियता कस्तो रह्यो ? समग्र मिडियाको भूमिका कस्तो रह्यो ? पत्रकार आचारसंहिता पालना र सञ्चारमाध्यमको विश्वसनीयता बढाउन के गर्नुपर्छ ? स्वास्थ्य संकटको अवस्थामा मिडियाले खेलेको भूमिका, जिम्मेवारी र मिडियाप्रतिको विश्वसनीयताका विषयमा केन्द्रित भई ११ वटा वस्तुगत प्रश्नसहित पूर्णतः बस्तुगत विधिबाट सर्भेक्षण गरिएको थियो ।

मिडियाकर्मी, कर्मचारी, प्राध्यापक/शिक्षक, कृषक, मजदुर, सुरक्षाकर्मी, व्यापारी, चिकित्सक, बैंकर्स, राजनीतिकर्मी र विद्याथीहरुलगायत ११ वटा पेशागत क्षेत्र, ७ वटै प्रदेश, उपत्यका गरी ८ भौगोलिक क्षेत्रभित्र रहेका सबै जिल्लाको समानुपातिक प्रतिनिधित्व हुने गरी १७६ उत्तरदाताहरु सर्भेक्षणमा सहभागिता रह्यो । महामारीमा सञ्चारमाध्यमको प्रयोगको अवस्थाबारे पहिचान गर्ने, आमउपभोक्ताको धारणा बुझ्ने, सञ्चारमाध्यम र पत्रकारका कमिकमजोरी पत्ता लगाई सुधारका उपायहरुवारे सुझाव दिने, अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा काउन्सिलको आगामी नीति तथा कार्ययोजना निर्माण गर्ने उद्देश्यले अध्ययन गरिएको हो । काउन्सिलले गरेको उक्त अनुसन्धानमा काउन्सिल सदस्य चेतनाथ धमला, उपप्रशासकीय अधिकृत रामशरण बोहरालगायतको टिम सहभागी हुनुहुन्थ्यो ।

छनौट गरिएका १७६ उत्तरदाताहरूमध्ये सबैभन्दा बढी ३१.८० % अर्थात ५६ जना उत्तरदाताहरूले अनलाइन मिडियालाई आफ्नो दैनिक सूचना प्राप्तिको निम्ति पहिलो प्राथमिकतामा राखेको देखिन्छ । सोहीअनुरmप दोस्रो र तेस्रोमा क्रमश २४.४० % (४३ जना) सहभागीहरूले सामाजिक सञ्जाल र २२.७० % (४० जना) सहभागीहरूले रेडियोलाई दैनिक सूचनाको निम्ति पहिलो प्राथमिकतामा राखेको पाइयो । यसैगरी १८.८० % सहभागीहरूले टेलिभिजनलाई सूचनाप्राप्तिका लागि पहिलो प्राथमिकता राखेका छन् । अहिलेको लक डाउनको अवस्थामा मात्र २.३० % सहभागीहरूले पत्रपत्रिकालाई आफ्नो दैनिक सूचना प्राप्तिको पहिलो प्राथमिकता मानेकाछन् ।

          सबैभन्दा विश्वासिलो मिडिया कून हो भनेर प्रश्न गर्दा ५०% सहभागीले सबैभन्दा विश्वासिलो मिडियाका रूपमा टेलिभिजनलाई लिए, दोस्रो र तेस्रोमा क्रमशः पत्रपत्रिका पढ्ने १८.२% र रेडियो सुन्ने १७.६ % रहेको पाइयो । सहभागीहरूको सामाजिक सञ्जालप्रतिको विश्वास ज्यादै न्यून १.१% मात्र रहेको देखियो । सामाजिक संजालबाट विश्वसनिय सूचना प्रस्तुत हुन नसकेको र यी माध्यमहरूको लोकप्रियता क्रमशः घट्दै गएको तथ्य नतिजाले देखायो । त्यसैगरी अनलाइन सञ्चारमाध्यमप्रतिको विश्वास पनि १३:१०% मात्र रहेको देखिन्छ । पत्रकार आचारसंहिता पालनाको वर्तमान स्थितितर्फ हेर्दा सर्भेक्षणमा सहभागी अत्याधिक करिव ६२.५% उत्तरदाताहरूको धारणामा मिडियाले पालना गर्नुपर्ने पत्रकार आचारसंहिता सामान्य पालना भइरहेको, करिब १४.८% उत्तरदाताहरूको विचारमा आचारसंहिताको पूर्ण पालना भएको र १३.६% उत्तरदाताहरूले न्यूनरूपमा पालना भइरहेको बताएका छन् । पत्रकारहरूको पेसागत आचरण र मर्यादा कायम राख्न आचारसंहिताको पूर्ण पालना हुनुपर्दछ । सहभागीमध्ये बहुसख्यकले आचारसंहिता पालनाप्रति दिएको जवाफमा प्रेस काउन्सिलले आगामी दिनमा पत्रकार आचारसंहिताबारे पत्रकारबीचमा व्यापक प्रचार–प्रसार र छलफल कार्यक्रम राख्नुककोसाथै अनुगमनमा थप जोड दिनुपर्ने उल्लेख गरे। आचारसंहिता उल्लङ्घनको तथ्याङ्कलाई हेर्दा करिब ९०.९% सहभागीहरूको बुझाइमा सबैभन्दा बढी आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम अनलाइन मिडिया रहेको पाइएको छ । सर्भेक्षणमा समावेश सञ्चारमाध्यममध्ये उल्लङ्घन गर्ने दोस्रोमा पत्रपत्रिका (४ प्रतिशत) र तेस्रो उल्लंघन गर्नेमा टेलिभिजन (३.४० % ) रहेको देखिएको छ ।

सामाजिक सञ्जालप्रतिको लोकप्रियता र विश्वसनियता तथ्यांकअनुसार सर्भेक्षणमा सहभागीहरूको विचार सामाजिक सञ्जालप्रतिको तथ्याङ्कलाई मात्रै आंकलन गर्दा लगभग ८०.७% सर्वेक्षणमा सहभागीहरूले फेसबुकलाई पहिलो प्राथमिकता दिएको पाइन्छ भने दोस्रोमा युट्युबलाई र तेस्रोमा ट्वीटरलाई प्राथमिकतामा राखेको देखिन्छ । 

कस्तो पत्रकारलाई वास्तविक पत्रकारको रूपमा बुझ्नुहन्छ ? भनी मिडिया उपभोक्तालाई सोध्दा उपलब्ध उत्तरका सन्दर्भमा सहभागी अधिकांश (करिब ७२.७%) उत्तरदाताहरूले निरन्तर पत्रकारिता पेसामा संलग्न रहेका, पत्रकारिता पेसामा लामो अनुभव संगालेका, यस पेसाप्रति समर्पित, निष्ठावान, कर्मठ, जवाफदेही, तथ्यमा आधारित विषयमा कलम चलाउने व्यक्तिहरूलाई सही (यथार्थ) पत्रकारको संज्ञा दिन मिल्ने विचार व्यक्त गरेको पाइयो । १९.३५% सहभागीहरूले पत्रकारिता विषय पढेका व्यक्तिहरूलाई पत्रकार मान्न सकिने भनेका छन् । तर अधिकांश सहभागीहरूले वुम र क्यामेरा बोकेर सामाजिक सञ्जालमार्फत लाइभ प्रसारण गर्दै हिड्ने, विना लाइसेन्स रेडियो र टी.भी.मा कार्यक्रम प्रस्तुत गर्दै हिड्ने व्यक्तिहरूलाई यथार्थ पत्रकार भन्न नमिल्ने विचार व्यक्त गरेका छन् ।

यस सर्भेक्षणमा मिडियाप्रतिको विश्वास बढाउनका निम्ति मागिएका सुझावअन्तर्गत प्राप्त तथ्याङ्क हेर्दा करिब ३९.२% सहभागीहरूले जनमानसमा मिडियाप्रतिको विश्वास बढाउन पत्रकार आचारसंहिताको अनुगमनलाई अझ तिब्र बनाउदै लैजानुपर्ने, यसोगर्दा पत्रकारहरू अनुशासित हुने, सत्य/तथ्य/भरपर्दो समाचार सम्प्रेषणमा सजग हुने विचार व्यक्त गरेको देखिन्छ । २१.१% सहभागीहरूले मिडियाकर्मीहरूलाई समयानुकुल पत्रकारिता विषयक तालिम प्रदान गरिनुपर्ने जसले पेसागत दक्षतामा वृद्धि भै विश्वासिलो समाचार प्रस्तुत हुने वातावरण बन्ने विचार व्यक्त भएको देखिन्छ । त्यसैगरी १९.३% सहभागीले पेसाप्रतिको जवाफदेहीता, इमान्दारिता र पेसाप्रतिको व्यवसायिकतामा ध्यान पु¥याउन सके मिडियाप्रतिको विश्वास बढ्दै जाने विचार राखेको पाइयो भने १४.२% सहभागीहरूले विद्यमान कानुनमा संशोधन गरी आचारसंहिता उल्लङ्घन गर्नेलाई सजायको व्यवस्था गर्नसके भ्रमपूर्ण समाचार सामग्रीहरूको प्रचार–प्रसारमा कमी आई मिडियाप्रति विश्वास बढ्दै जाने विचार व्यक्त गरे ।

अध्ययनको सुझाव : सामाजिक सञ्जालप्रतिको जनमानसको क्षणिक मोह भएतापनि अफवाहपूर्ण सामग्री सम्प्र्रेषण रोक्न यसलाई नियमन गर्नका लागि राज्यबाट कुनै निकायलाई जिम्मा दिने वा कानुनी व्यवस्था हुनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । पत्रकारिता पेसामा लामो समयसम्म संलग्न रहेका पत्रकारहरू नै बढी नै अनुशासित, इमान्दार र मर्यादित हुने हुँदा ती पत्रकार वास्तविक पत्रकार हुन्छन् भन्ने सर्भेक्षणबाट देखिएको हुँदा पत्रकारिता पेसालाई अझ मर्यादित बनाउन प्रेस काउन्सिलको पहलकदमी हुनु आवश्यक देखिन्छ । आचारसंहितासम्बन्धी जागरण अभियान नै सञ्चालन गरी न्युमिडियालाई अझ बढी आवश्यक देखिन्छ । विश्वसनीयता बढाउनका लागि तथ्यपरकता, आधिकारिक पुष्टिपश्चात् सामग्री सम्प्रेषण गर्नुका साथै व्यावसायिकताको विकासमा ध्यान दिनुपर्दछ ।

सञ्चारमाध्यममा प्रकाशित गम्भीर प्रकृतिका सामग्रीका विषयमा कारबाहीका निमित्त काउन्सिलमा प्रेस इजलास गठन गरी उजुरीको सुनुवाइ तथा फैसला हुने, पत्रकारको क्षमता अभिवृद्धिको लागि तालिमको व्यवस्था गर्ने र सञ्चारमाध्यमको व्यावसायिकतामाथि जोड दिनुपर्ने देखिन्छ ।

कतिपय मिडियाबाट सम्प्रेषण हुने भ्रमपूर्ण, तथ्यहीन, अफवाहपूर्ण सूचनाको प्रचारप्रसारका कारण त्रास र भयको स्थिति सिर्जना हुने, तथ्यपुष्टि बेगरको सूचना प्रवाहमा हतारो, छिटो बाजी मार्ने बहानामा गलत सूचना प्रवाह हुँदा समुदायले ठूलो क्षति व्यहोनुपर्ने भएकोले सञ्चारमाध्यमले तथ्यपरक, प्रमाणमा आधारित समाचारमात्र सम्प्रेषण गर्ने कुरामा संबेदनशील हुन जरूरी  देखिन्छ ।

कोरोना सङ्क्रमित एवं मृत्यु भएका व्यक्तिको पहिचान खुल्नेगरी तस्वीर एवम् वैयक्तिक विवरण प्रस्तुत हुँदा वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, मानवीय समवेदना खल्बलिने र प्रभावित व्यक्तिलाई थप पीडा पुग्नेतर्फ सावधानी अपनाउनेतर्फ सजग रहनुपर्दछ । अहिलेको समयमा मिडिया उपभोक्ताले छापामाध्यमप्रति देखाएको विश्वासले छापा पत्रकारिताको अस्तित्व सङ्कटमा छैन भन्न सकिन्छ । सामाजिक सञ्जाल र पत्रकारिताको परिभाषा अलग भएपनि पत्रकारितालाई सञ्जालजस्तै बुझ्ने गरेको हुँदा यसबारे आम मिडिया उपभोक्ताहरूलाई स्पष्ट पार्नुपर्ने, सञ्जाललाई नियमन गर्नुपर्ने, तथ्य जाँच (Fact Check) गर्ने र काउन्सिलले आगामी कार्ययोजना तय गर्दा यस सर्भेक्षणबाट प्राप्त सुझावलाई अबलम्बन गर्नुपर्दछ ।

रिपोर्ट : महेन्द्रराज सिंह, २०७७ जेठ १६ गते शुक्रबार ।

प्रतिबेदन डाउनलोड 

Updated : 2077-2-26, Monday, 13:17 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *