Press Council Nepal

स्थानीयतहको निर्वाचनको अनुगमनको जिम्मेवारी काउन्सिललाई

 

निर्वाचन आचारसंहिता अनुगमनसम्वन्धि अन्तरक्रिया सम्पन्न

प्रेस काउन्सिल नेपालको आयोजनामा मंगलबार राजधानीमा स्थानीय तहको निर्वाचन आचारसंहिताको अनुगमन गर्ने सम्वन्धमा वृहत छलफल तथा अन्तरक्रिया भयो । कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सार्वजनिक सम्पत्ति तथा स्रोतसाधनको दुरुपयोग गर्ने प्रबृत्तिलाई निरुत्साहित पार्दै निर्वाचनलाई स्वच्छ, निश्पक्षरुपमा सम्पन्न गर्न मिडियाको प्रभावकारी अनुगमन, निगरानी गर्नुपर्ने धारणा राख्नुभयो । पूर्व प्र.नि.आ.उप्रेतीले देशभरका मिडिया खासगरी एफएम रेडियो तथा अनलाइनतर्फ काउन्सिल केन्द्रीत भई अनुगमन गरी गल्ती गर्ने र पीडित पक्ष दुवैलाई ठीक लाग्नेगरी कारवाही थाल्नुपर्ने भन्दै महिला, दलित र पिछडिएका वर्गको प्रतिनिधित्व हुनैपर्ने संबैधानिक सुनिश्चिताले उम्मेदवारको ब्यक्तिगत चरित्र हत्या, लाञ्छना, भेदभाव हुनेगरी प्रकाशन÷प्रसारण हुन सक्नेतर्फ सचेत गर्नुभएको थियो ।3

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले मिडिया कोही कसैप्रति पूर्वाग्रही नहुन र सन्तुलन कायम राख्न जोड दिनुभएको थियो । काउन्सिलबाट बिद्युतीय माध्यमको चौविसै घण्टा अभिलेखीकरण हुने भएकोले राम्रो संदेश गएको धारणा राख्नुभएको थियो ।

सो अवसरमा प्राध्यापक तथा पत्रकार चिरिञ्जीवी खनाल, डा. कुन्दन अर्यालले विगतका निर्वाचनमा भएका आचारसंहिता उल्लघंनका प्रवृति र हुनसक्ने सम्भावित घटनाबारे धारणा राख्नुभएको थियो ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सञ्चालन गर्नुभएको कार्यक्रममा उप–प्रशासकीय अधिकृत रामशरण बोहराले अनुगमनको पद्धतिबारे स्पष्ट पार्दै निर्वाचन आचारसंहिता अनुगमन योजनाबारे प्रस्तुति राख्नुभएको थियो । आफ्नै स्रोतबाट स्वअनुगमन गरिराखेको भएतापनि निर्वाचन आयोगले मिडियामा स्थानीय तहको निर्वाचनको आचारसंहिता अनुगमनको जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई दिएको छ ।

तस्विर रिपोर्ट : महेन्द्रराज सिंह, २०७४ बैशाख १९ गते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


*