स्वतन्त्र प्रेसको आधार आचारसंहिता
सुभाषचन्द्र नेम्बाङ,अध्यक्ष, संविधान सभा
काठमाडौं।
२०६६ भदौ १८ गते

प्रेस काउन्सिल नेपालले प्रकाशन गरेको।।।पत्रकार आचारसंहिता र व्याख्यात्मक टिप्पणी' नामक पुस्तकको विमोचन आज संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्बाङले गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि संविधानसभाका अध्यक्ष सम्माननीय सुभाषचन्द्र नेम्बाङले पुस्तकको विमोचन गर्दै भन्नुभयो( “यो पुस्तक पत्रकारिता क्षेत्रको लागि धेरै उपयोगी र महत्वपूर्ण हुने महसुस गरेको छु। पत्रकार आचारसंहिताको व्याख्यात्मक टिप्पणीसहितको यो पुस्तक धेरै महत्वपूर्ण छ। यसलाई व्यवहारमा उतार्न सकियो भने स्वतन्त्र प्रेसको भूमिकामा ठूलो योगदान पुग्नसक्छ। स्वतन्त्र प्रेसको आधार बन्नसक्छ। प्रेस जति जिम्मेवार हुन्छ, त्यति नै महत्वपूर्ण कुरा लोकतान्त्रिक व्यवस्थालाई संस्थागतरुपमा विकास गर्न मद्दत पुग्छ।”
विमोचन समारोहमा नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष हरिहर विरहीले पत्रकारहरुको आचारसंहिताको बारेमा व्याख्यात्मक टिप्पणीसहितको पुस्तक प्रकाशन भएकोमा पत्रकारिता क्षेत्रलाई जिम्मेवार बनाउन यस पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको थियो। 
पुस्तकका लेखकद्वय काशीराज दाहाल र विष्णुप्रसाद शर्माले पुस्तकमा समाविष्ट विषय र पक्षका बारेमा प्रकाश पार्नुभएको थियो।
२०६६ साउन प्रकाशित १३९ पृष्ठको यो पुस्तकको मूल्य रु. १५०।( रहेको छ। यस पुस्तकलाई प्रेस काउन्सिलले प्रकाशनमध्येको महत्वपूर्ण कृतिको रुपमा लिइएको छ। विमोचन कार्यक्रमका सभापति एवं प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले प्रेस काउन्सिललाई एउटा नयाँ कृति सिर्जना गरेर लेखकद्वयले गुण लगाएको अभिव्यक्ति दिनुभएको थियो। कार्यक्रममा उपस्थित सबै महानुभावलाई काउन्सिलका सदस्यसचिव श्रीधर गौतमले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन काउन्सिलका सदस्य हरिगोविन्द लुइँटेलले गर्नुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधिकारी, पत्रकारिता क्षेत्रका पेशागत संगठनका पदाधिकारीहरु, वरिष्ठ पत्रकार एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो।





